Description
अधिकांश बालीहरु फल र बीउ उत्पादनको लागि कीराहरुबाट हुने परागसेचनमा भर पर्दछन् । परागसेचनको पूर्ण उपयोगले कहिलेकाही मलहरु भन्दा पनि बढी उत्पादन दिन सक्छ तर किसानहरुले यो बिना लगानी लिन सकिने सेवालाई पनि व्यवस्थित रुपले प्रयोग गर्न सकेका छैनन् । कर्णाली प्रदेशमा खेती गरिने करिब ७० प्रतिशत बालीहरु परागसेचनमा निर्भर छन् तर अधिकांश किसानहरुमा परागसेचन र परागसेचकहरु सम्बन्धि ज्ञान तथा सीपको कमी छ जसले गर्दा बालीहरुको उत्पादन, खाद्य सुरक्षा र समग्र जीविकोपार्जन समेतमा असर गरिरहेको छ । त्यस्तै सरकारी नीति र कार्यक्रमले पनि कृषि क्षेत्रमा परागसेचनलाई त्यति धेरै महङ्खव दिएको पाइदैन र त्यसका लागि कृषि प्राविधिकहरु र प्रसारकर्ताहरुलाई परागसेचन व्यवस्थापन सम्बन्धि आवश्यक सचेतना र क्षमता विकासको जरुरी देखिन्छ । परागसेचकहरु प्राङ्गारिक खेतीको लागि एकदम आवश्यक हुन्छन् किनभने यसले मलको अभावमा पनि उत्पादन बृद्धि गर्ने क्षमता राख्दछ । तथापि कर्णाली प्रदेशको प्राङ्गारिक रणनीति र अरु नीतिहरुमा समेत परागसेचन व्यवस्थापन सम्बन्धि कुरालाई समाहित गरिएको पाईदैन । त्यसकारण परागसेचन व्यवस्थापनको लागि छुट्टै परागसेचक रणनीतिको विकास गर्नसके कर्णाली प्रदेशका किसानका आयआर्जन, जैविक विविधताको संरक्षण र अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने देखिन्छ ।
यो नीति सङ्क्षेप डार्विन इनिसिएटिभ अन्तर्गत ली–बर्ड र हर्ड इन्टरनेशनलको कार्यन्वयन तथा ब्रिस्टोल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोगमा सञ्चालित नेपालको कृषि प्रणालीमा दिगो परागसेचन व्यवस्थापन परियोजनाको प्रतिफल हो ।