झुमरो / सामा (Barnyard Millet) Poster
Year

June 2025

Description

सुदूरपश्चिम प्रदेशमा परापूर्व कालदेखि खेती गरिदै आएका विभिन्न रैथाने बालीहरू मध्ये झुमरो बाली पनि एक हो । कोदो जन्य बालीहरूको समूहमा पर्ने यस बालीलाई औपचारिक भाषामा “सामा” भनिन्छ र यसको अङ्ग्रेजी नाम Barnyard Millet हो भने वैज्ञानिक नाम Echinochloa esculenta हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू विशेष गरी बाजुरा जिल्लामा यसलाई “झुमरो” वा “झुमरो कागुनो” भनेर चिन्ने गरिन्छ तर यो कागुनो (Foxtail Millet) भने होईन । कुनै समयमा पाखोबारीको ठुलो क्षेत्रफलमा खेती गरी उपभोग गर्नेगरेको झुमरो बाली अहिले लोपोन्मुख अवस्थमा पुगेको छ । एकल तथा मिश्रित दुवै किसिमले खेती गर्न सकिने यो बाली हाल आएर थोरै घरधुरीहरूले थोरै क्षेत्रफलमा जस्तै घैया धानबारीको कुना या भित्तातिर, अलि सुख्खा र रूखो जमिनमा कोदो बालीसँग मिश्रित वा एकल बालीको रूपमा खेती गर्दै आएको पाइन्छ । झुमरोको प्रसोधित दाना वा चामलबाट भात र खीर; पिठोबाट पुरी, सेल रोटि (बाबर) इत्यादि परिकारहरू बनाएर खाने चलन छ । यसको हरियो बोट नल गाई-भैंसीलाई पोसिलो घाँसको रूपमा प्रयोग हुन्छ भने दानालाई कुँडोको रूपमा पनि पशुहरूलाई दिने गरिन्छ । परम्परागत मान्यताअनुसार मानव स्वास्थ्यका लागि निकै पोसिलो र गुनिलो, धार्मिक हिसाबले चोखो/सुद्ध मानिने यो बालीको उपभोगिता भने घट्दो क्रममा छ । खाद्य शैलीमा आएको परिवर्तन, प्रसोधनमा कठिनाइ तथा यसको पौष्टिक महत्त्वकाबारे सचेतनाको कमीको कारण यो महत्त्वपूर्ण बाली लोप हुने खतरामा छ । पौष्टिकता र जलवायु अनुकूलन क्षमताले भरिपूर्ण यस झुमरो बाली उचित संरक्षण र प्रवर्धनको पर्खाइमा छ