Description
‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली—बर्ड)’ ले ‘फेल्म नेपाल’ सँगको साझेदारी र फिनल्याण्ड सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा कञ्चनपुर र डोटी जिल्लामा बसोबास गरिरहेका अपाङ्गता भएका व्यक्ति, महिला, मुक्त हलिया, मुक्त कमैया, भूमिहीन समुदाय तथा सीमान्तकृत कृषकहरूको खाद्य तथा पोषण सुरक्षा, आम्दानी र समानुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘समयानुकूलित जीविकोपार्जनका लागि साना कृषकहरूको क्षमता अभिवृद्धि (सक्षम)’ परियोजना सञ्चालन गरिरहेको छ ।
सन् २०२२ बाट थालनी गरिएको यस परियोजनाले सन् २०२५ मङ्सिरसम्म आइपुग्दा प्रत्यक्ष रूपमा ३,६७३ घरपरिवार समेटेको छ । यस परियोजनामा सहभागी भएका धेरै घरपरिवारहरूले परियोजनाको सहयोग र उनीहरूको मिहिनेतले आप्नो उत्थानशील क्षमता र आर्थिक तथा सामाजिक अवस्थामा उल्लेखनीय सुधार ल्याउन सफल भएका छन् । यिनैमध्येका प्रतिनिधिमूलक १३ जना दिदी–बहिनी तथा दाजु–भाइहरूका अनुकरणीय परिवर्तनका कथाहरू त्यस्तै, स्थानीय सेवा प्रदायकका रूपमा रहेका सहकारी संस्था, स्थानीय हाटबजार र यस परियोजनासँग आबद्ध सरोकारवालाहरूका सहकार्यात्मक अनुभव, सरसल्लाह तथा सुझावलाई समेटेर यो पुस्तिका प्रकाशन गरिएको छ । यसमा समेटिएका व्यक्तिगत, सामूहिक, पारिवारिक, आर्थिक तथा सामाजिक विवरण उनीहरूको पूर्व अनुमति लिएर समावेश गरिएको हो । यी १३ परिवार तथा संस्थालाई यहाँसम्म ल्याइ पुर्याउन आप्नो कार्यक्षेत्रमा अहोरात्र खटिएर विपन्न वर्गका मानिसहरूको खाद्य सुरक्षा, पोषण अवस्था र आम्दानी वृद्धि गर्दै समग्र उत्थानशील क्षमता बढाउन जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नु हुने ली–बर्डका कर्मचारी, सहकारीका पदाधिकारी, स्थानीय हाटबजार व्यवस्थापन समिति, विभिन्न सरोकारवाला तथा सम्पूर्ण कर्मचारीहरू विशेष धन्यवादका पात्र हुनुहुन्छ ।