Description
बागमती प्रदेशको सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका किसानहरूले सिँचाइ कम भएका टारी (खेत) जग्गामा हरियो काउचीन धान विगत ६० वर्ष भन्दा पहिलेदेखि खेती गर्दै आएको पाइन्छ । हाल सिन्धुपाल्चोक र त्यसको वरपर गरी कुल १००-१२० हेक्टरमा ४२४.४४ मेट्रिक टन उत्पादन हुँदै आएको पाइएको छ । स्थानीयको भनाई अनुसार हरियो काउचिन धानको बाला पाके पनि बोट हरियो भई रहने र धान झाटने क्रममा केही झूस जस्तो हुने भएकाले हरियो काउचिन भनिएको हो । शुद्ध बिउ उत्पादन गरी उपलब्ध गराउने हो भने यस्तै हावापानी भएका अन्य गाउँ र जिल्लामा पनि यस धानको जातको उत्पादन प्रचुर सम्भावना रहेको कृषकहरू बताउँछन् । अन्य विकसित जातको तुलनामा यो धानको जात सुख्खा सहने तथा टारी जग्गामा कम मल प्रयोग गरेर पनि उत्पादन लिन सकिन्छ । रोग र किरा प्रतिरोधात्मक क्षमता भएको र दिगो रुपमा आम्दानी लिन सकिने हुनाले यस धानको जात कृषकहरू बिच लोकप्रिय बन्दै गएको छ । यस धान विशेष गरी दशैंमा चिउरा, तिहारमा सेलरोटी र साउन १५ मा खिर बनाई परम्परागत रूपमा सेवन गरिन्छ ।
यसरी धेरै कृषकले लगाउने स्थानीय राम्रो धानको जात भएकै कारण जैविक विविधता अनुसन्धान तथा विकासका लागी स्थानीय पहल (ली-बर्ड) र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) को सहजीकरणमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा न २ मा अवस्थित पिङडाडा साना किसान कृषि सहकारी संस्थाले प्रस्तावना तयार गरि दर्ता प्रक्रिया अगाडि बढाएको हो । उक्त प्रस्तावनामा छलफल गरि बिउ बिजन नियमावलीको खण्ड घ अनुसार दर्ताका लागि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र मार्फत जातीय उन्मोचन तथा दर्ता समितिबाट २७ जेठ २०८१ को बैठकले दर्ता प्रकृया अगाडि बढाउन सिफारिस गरेको थियो भने ०८ कार्तिक २०८१ मा राजपत्रमा प्रकासन भइसकेको छ ।