Description
सामुदायिक बीउ बैंक सङ्घ नेपाल मुनाफा वितरण नगर्ने संस्थाका रुपमा २०७६ साल साउन २० गते स्थापना भएको संस्था हो । नेपालका सम्पूर्ण सामुदायिक बीउ बैंकहरुलाई एउटै छाताभित्र ल्याएर रैथाने बाली तथा जातहरुको संरक्षण तथा दिगो उपयोगका लागि उनीहरुलाई सबल, सक्षम र सक्रिय बनाइराख्नका लागि प्रभावकारी समन्वय, सहकार्य र सहजीकरण गर्ने एवं रैथाने बाली तथा जातमा आधारित व्यवसाय प्रवद्र्धन गर्ने यसको मुख्य लक्ष्य रहेको छ ।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड, पोखराको अगुवाइमा २०६९ साल फागुन २८ देखि ३० गतेसम्म कचोर्वा सामुदायिक बीउ बैंक, बारामा ‘नेपालका सामुदायिक बीउ बैंकहरुको पहिलो राष्ट्रिय भेला’ आयोजना भएको थियो । उक्त भेलाका अन्त्यमा ‘सामुदायिक बीउ बैंक राष्ट्रिय समन्वय समिति’ नामक संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरिएको थियो । २०७५ साल वैशाख २० देखि २२ गतेसम्म सम्पन्न नेपालमा सामुदायिक बीउ बैंक स्थापना तथा व्यवस्थापनमा सहयोग पुर्याइरहेका सरकारी तथा गैरसरकारी संस्थाहरुको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका अन्त्यमा उक्त तदर्थ समितिलाई पुनर्गठन गरी ‘सामुदायिक बीउ बैंक सङ्घ नेपाल’ नामकरण गरिएको थियो ।