Description
संरक्षण कृषि (Conservation Agriculture) भन्नाले माटो, पानी र प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षण गर्दै उत्पादन क्षमता बढाउने दिगो खेती प्रणाली भनेर बुझ्नुपर्दछ। यस खेती प्रणालीले माटोको उर्वरा शक्तिको क्षतिलाई न्यूनीकरण गर्दै क्षय भएका जमिनलाई समेत पुनर्स्थापित गर्न सहयोग पुर्याउँदछ। बढ्दो कृषि लागत, बदलिँदो जलवायु, र खाद्य सुरक्षामा बढ्दो जोखिमको अवस्थामा, संरक्षण कृषि किसानका लागि एक सुरक्षित, फाइदाजनक र दिगो विकल्पका रूपमा अत्यन्तै महत्वपूर्ण छ। आधुनिक वा सघन खेती प्रणाली अपनाउँदा विगतका ४० वर्षमा विश्वले खेतीयोग्य जमिनको एक तिहाइ (करिब ४५० मिलियन हेक्टर) गुमाइसकेको, जमिनको उर्वराशक्तिमा ह्रास आएको र जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई अझ बल्झाइराखेको अवस्थामा संरक्षण कृषि अहिलेको प्रमुख आवश्यकता बनिरहेको छ (Food and Agriculture Organization, 2023)। यसको प्रमुख उद्देश्य प्राकृतिक स्रोतहरू जस्तै माटो, पानी, र जैविक तत्त्वहरूको संरक्षण र सुधार तथा उत्पादनको वृद्धि सुनिश्चित गर्दै बाह्य स्रोतहरूको समन्वयात्मक रूपमा व्यवस्थापन गर्नु हो।
यस खेती प्रणालीले माटोको कम खनजोत, जैविक तरिकाले माटो ढाकेर र विभिन्न बालीहरूको खेती गरी माटोलाई स्वस्थ राखी उत्पादन बढाउनुका साथसाथै माटो, पानी र वातावरणको संरक्षण गर्न पनि मद्दत गर्दछ। नेपालका तराई क्षेत्रमा धान-गहुँ प्रणालीमा र मध्यपहाडी क्षेत्रमा केवल खनजोत नगरी खेती गर्दा माटोमा प्रतिवर्ष करिब १४० किलोग्राम प्रति हेक्टर जैविक कार्बन (Soil Organic Carbon) सञ्चित हुन्छ। तर शून्य खनजोतसँगै माटोमा छापो पनि राख्दा यो मात्रा बढेर प्रतिवर्ष प्रति हेक्टरमा करिब ४८० किलोग्रामसम्म पुग्न सक्छ (Ghimire et al., 2012)। यस कृषि प्रणालीले माटोमा प्राङ्गारिक तत्त्व र कार्बनको सञ्चिति वृद्धि गरी, कृषिमा इन्धन र कृषि रसायनको प्रयोग घटाइ, हरितगृह ग्यासहरूको उत्सर्जन कम गरी जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनमा महत्वपूर्ण भूमिका खेल्दछ। माटोमा जैविक कार्बनको मात्रा बढ्दा माटोको उर्वराशक्ति बढ्दछ । माटोको संरचना सुधारिन्छ। माटोमा लाभदायक सूक्ष्म जीवहरूको बसोबास बढ्दछ र समग्रमा माटोको स्वास्थ्य राम्रो हुन्छ। संरक्षण कृषि अपनाउँदा इन्धन, श्रम तथा मलविषादीको लागत घट्ने हुनाले उत्पादन प्रणाली दीर्घकालीन रूपमा दिगो र फाइदाजनक बन्दछ ।