Description
सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै खेती गरिँदै आएका विभिन्न रैथाने बालीहरूमध्ये झुमरो पनि एक हो । कोदोजन्य बालीमा पर्ने यस बालीको अङ्ग्रेजी नाम Barnyard Millet (बार्नयार्ड मिलेट) हो भने वैज्ञानिक नाम Echinochloa esculenta हो । यसलाई औपचारिक भाषामा सामा/साँवा भन्ने गरिन्छ, तर बाजुराका अधिकांश कृषकले झुमरो वा झुमरो कागुनो भनेर चिन्दछन् । झुमरोलाई कतैकतै झुमरो कागुनो भनिने भए पनि यो कागुनो (Foxtail millet) भने होइन । त्यसैगरी बाजुरा, अछाम तथा आसपासका जिल्लाहरूमा कसैकसैले यसलाई माधुरो भनेर पनि चिन्ने गरेको पाइन्छ।
बाजुरा जिल्लाको बुढीगङ्गा तथा त्रिवेणी नगरपालिकामा भएको स्थलगत अध्ययनमा झुमरोको एक मात्र रैथाने जात रहेको र सबैले झुमरो नै भनेर खेती गर्ने गरेको पाइयो । कुनै समयमा पाखोबारीको ठूलो क्षेत्रफलमा खेती गरी उपभोग हुने गरेको झुमरो बाली अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । एकल तथा मिश्रित दुवै किसिमले खेती गर्न सकिने यो बाली हाल आएर थोरै घरधुरीहरूले थोरै क्षेत्रफलमा जस्तै घैया धानबारीको कुना-भित्ता र छेउतिर, अलि सुक्खा र रुखो जमिनमा कोदो बालीसँग मिश्रित वा एकल बालीको रुपमा खेती गर्दै आएको पाइन्छ । झुमरोको प्रशोधित दाना वा चामलबाट भात र खीर; पिठोबाट पुरी, सेल रोटी इत्यादि परिकारहरू बनाई खाने चलन छ । यसको हरियो बोट/नल गाई-भैँसीलाई पोसिलो घाँसको रूपमा दिने गरिन्छ भने दानालाई कुँडोको रुपमा पनि पशुहरूलाई दिने गरिन्छ । परम्परागत ज्ञानअनुसार निकै पोसिलो र गुणिलो, धार्मिक हिसाबले चोखो/शुद्ध मानिने यो बालीको उपभोग भने घट्दो क्रममा छ । खाद्य शैलीमा आएको परिवर्तन, प्रशोधनमा कठिनाइ तथा यसको पौष्टिक महत्त्वका बारे सचेतनाको कमीका कारण यो महत्त्वपूर्ण बाली लोप हुने खतरामा छ । मूल धारको अध्ययन तथा अनुसन्धानकाे प्राथमिकतामा नपरेको, पौष्टिकता र जलवायु अनुकूलन क्षमताले भरिपूर्ण यस झुमरो बाली उचित संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ । यसको खेती प्रणाली तथा उपयोगितासँग सम्बधित परम्परागत ज्ञानहरूको दस्तावेजीकरण गर्दै गुणस्तरीय बीउको उपलब्धतामा पहुँच, खाद्य परिकार विविधीकरण, प्रशोधन, यान्त्रीकरण र सचेतना वृद्धिका कार्यहरूमा विशेष जोड दिनुपर्ने देखिन्छ ।