Description
जलवायु परिवर्तनका कारणले पृथ्वीमा रहेका विभिन्न प्राणी तथा वनस्पतिहरूको अस्तित्वनै खतरामा पर्दै गएको कुरा विभिन्न अध्ययन अनुसन्धानहरूले देखाइरहेका छन् । यसले मानिसको जीविकोपार्जन र कृषि क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ । नेपालका साना तथा सिमान्तकृत कृषकहरू अझ बढी प्रभवित छन् । किनभने साना तथा ग्रामीण भेगका बहुसङ्ख्यक कृषकहरूसँग कृषि विकासका लागि आवश्यक ज्ञान, सीप र प्रविधीमा पहुँच छैन । उनीहरू आफैंसँग त्यस परिवर्तनसँग जुध्न सक्ने क्षमता पनि पर्याप्त छैन । जलवायु परिवर्तनका कारणले उत्पादनमा ह्रास आउन थालेको भए तापनि यस्तो अवस्थासँग जुध्न सकिने उपायहरूका बारेमा पर्याप्त छलफल, अन्तर्क्रिया, तालिम आदिको पनि अभाव छ । यदि हामीले कृषि कर्म गर्दा परिवर्तन भएको जलवायु वा हावापानी अनुसार तालमेल मिलाउन वा चल्न सकेनौं भने हामी आवश्यकतानुसार खाद्यान्न उत्पादन गर्न सक्दैनौं ।