Description
परिचय
बाली बिरुवामा (तरकारी बाली, अन्नबाली, फलफूल आदि) विभिन्न रोग तथा कीराहरूको प्रकोप दिनानुदिन बढ्दै जानुको एक कारण जलवायु परिवर्तन हो । विभिन्न नयाँ प्रकृति तथा प्रजातिका कीराहरूको प्रकोपले गर्दा कृषि उत्पादनमा ह्रास भई किसानहरूले अतुलनीय क्षति भोग्नु परिरहेको छ । रोग तथा कीरा नियन्त्रणको लागि रासायनिक विषादीको प्रयोग अत्याधिक मात्रामा भैरहेकोमा यसले मानव तथा पशु स्वास्थ्य, बाली स्वास्थ्य र कृषि पारिस्थितिकीय प्रणालीमानै नकारात्मक असर पारिरहेको छ । रासायनिक विषादीको निरन्तर तथा अत्याधिक प्रयोगले कीराहरूमा प्रतिरोधी क्षमताको विकास भई प्रत्येक वर्ष नयाँ तथा कडा विषादीको प्रयोग गर्नुपरिरहेको विद्यमान अवस्था छ । यसको विकल्पमा विभिन्न पासो तथा ल्युरको प्रयोगद्वारा रासायनिक कीटनाशकहरूको प्रयोगलाई कम गरि एकिकृत शत्रुजीव व्यवस्थापनको उद्देश्यअनुसार पर्यावरण मैत्री कृषिको कल्पना गर्न सकिन्छ । पासो तथा ल्युरको प्रयोगद्वारा लक्षित हानिकारक कीराहरूलाई आकर्षित गरी नष्ट गरी तिनीहरूको जनसङ्ख्या निगरानी वा कम गर्न सकिन्छ । उदाहरणका लागि, झिँगा र बारुलाहरू प्रायः प्रोटिनहरूमा आकर्षित हुन्छन् र लाही कीरा तथा ज्यासिडहरू प्रायः रङ्गीन पासोहरूमा आकर्षित हुन्छन् । विशेष कीराहरूका लागि खानाको चारा, रासायनिक आकर्षण र फेरोमोन जस्ता आकर्षणहरू प्रयोग गरिन्छ । कीराहरूलाई आकर्षित गर्न प्रकाश पासो, विभिन्न रङ र आकारहरूका पासोहरू र अन्य आकर्षणहरू पनि प्रयोग गर्न सकिन्छ ।
पासो तथा ल्युरको प्रयोग रोग तथा कीरा नियन्त्रणको लागि प्रभावकारी देखिएको छ र यसकोे प्रभावकारिता बढाउन कृषकमाझ कुन पासो तथा ल्युर कुन बालीमा, कहिले, कति वटा, कुन कीरा नियन्त्रणको लागि राख्ने भन्ने जस्ता विषयमा ज्ञान हुनु आवश्यक देखिन्छ ।