Description
वन तथा वातावरण मन्त्रालयले विक्रम संवत २०७८ मा प्रकाशन गरेको सङ्कटासन्नता तथा जोखिम लेखाजोखा एवम अनुकूलनका विकल्पहरू नामक प्रतिवेदन अनुसार कञ्चनपुर जिल्ला जलवायुजन्य प्रकोप एवम विपदहरूले पारेको समष्टिगत प्रभावका आधारमा उच्च जोखिममा पर्ने भएकोले समग्र जिल्लाको साथै यस कृष्णपुर नगरपालिकाका कृषक लगायत प्रायः सबै मानिसहरूमा यसका प्रत्यक्ष नकारात्मक असरहरू परिरहेको देखिन्छ । यस नगरपालिकाका धेरै बासिन्दाहरू प्रायः निर्वाहमुखी कृषि प्रणालीमा निर्भर छन भने यहाँका सबै वडाका किसानहरूमा जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका असरहरू देखिएका छन । यस नगरपालिकामा बाढी, नदीकटान तथा डुवान, शीतलहर, पशुरोग, बालीरोग, मानवरोग, आगलागी, मिचाहाझार, चट्याङ, खडेरी, हावाहुरी, असिनापानी, भ–क्षय र पहिरोजस्ता जलवायुजन्य विपद तथा प्रकोपका कारण राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ एवम राष्ट्रिय अनुकूलन योजना, २०७९ मा उल्लेख भएका सबै ८ ओटा विषयगत क्षेत्रमा नकारात्मक असर परेको छ । यहाँ कृषि उत्पादनमा कमी हुनुका साथ मानिस लगायत पशु, वन तथा कृषि जमिनमा विविध समस्या तथा असरहरू देखिएका छन ।
नेपाल सरकारले विक्रम संवत २०७६ मा सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन नीतिले ८ ओटा क्षेत्रहरू १. कृषि तथा खाद्य सुरक्षा, २. वन, जैविक विविधता तथा जलाधार संरक्षण, ३. जलस्रोत तथा ऊर्जा, ४. ग्रामीण तथा सहरी बसोबास, ५. उद्योग, यातायात तथा भौतिक पूर्वाधार, ६. पर्यटन एवम प्राकृतिक तथा सांस्कृतिक सम्पदा, ७. स्वास्थ्य, खानेपानी तथा सरसफाइ, र ८. विपद जोखिम न्यूनीकरण र व्यवस्थापन) मा अनुकूलन तथा न्यूनीकरणका विभिन्न नीतिहरू अवलम्बन गरेको छ । नेपालको पन्ध्रौँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६/०७७ – २०८०/८१) ले नेपालका सबै स्थानीय तहमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तयारी तथा कार्यान्वयन गरी सबै जनतालाई बदलिँदो जलवायुमा अनुकूलित हुनका लागि उपयुक्त वातावरण निर्माण गर्दै जलवायु उत्थानशील समाज निर्माण गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाल सरकारले राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५, विपद जोखिम व्यवस्थापन तथा न्यूनीकरण ऐन, २०७४, स्थानीय अनुकूलन कार्ययोजनाको खाका, २०७६ कार्यान्वयनमा ल्याइसकेको छ भने स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका, २०७३ मस्यौदाको रूपमा कार्यान्वयनमा रहेको छ । यस्ता पक्षहरूलाई मध्यनजर गर्दै यस नगरपालिकाले यहाँ देखिएका प्रमुख विपद तथा प्रकोपहरूको पहिचान र सङ्कटासन्नता तथा जोखिम विश्लेषण गरी त्यस्ता प्रकोप तथा विपदहरूसँग जुध्नका निम्ति आगामी पाँच वर्षका लागि स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तयार गरेको छ ।