Description
एउटै खेत वा बारीमा एकै समयमा दुई वा दुईभन्दा बढी बालीहरू एकैसाथ खेती गर्ने तरिकालाई अन्तरबाली (Intercropping) प्रविधि भनिन्छ। नेपालमा परापूर्व कालदेखि नै विभिन्न बालीहरू जस्तैः मकै, कोदो, गहुँ, तरकारी, इत्यादिमा अन्तरबाली खेती गरिँदै आएको पाइन्छ । परम्परागत रुपमा नेपालमा कोदो र मस्याङ, कोदो र लट्टे, कागुनो र लट्टे, स्याउ र सिमी, स्याउ र फापर, गहुँ र तोरी, धान र मास, धान र मस्याङ, मकै र बोडी, मकै र सिमी, मकै र भटमास, आदिको अन्तरबाली खेती गरिएको पाइन्छ । उपलब्ध जग्गामा एकल बालीले प्रयोग गर्न नसक्ने उपलब्ध स्रोतहरूको अधिकतम प्रयोग गरेर उत्पादन बढाउनु तथा उत्पादनमा विविधीकरण गर्नु यस प्रविधिको मुख्य उद्देश्य हो। जस्तैः गहिरो जरा भएको बाली सतही जरा भएको बालीसँग रोप्ने, आंशिक छाँया चाहिने छोटो बाली अग्लो बालीसँग रोप्ने, लहरिने बाली अग्लो र बलियो बोट हुने बालीसँग रोप्ने, आदि। अन्तरबाली खेती प्रविधिहरू मिश्रित अन्तरबाली (Mixed Intercropping), घुसुवा अन्तरबाली (Relay Intercropping), हार अन्तरबाली (Strip Intercropping) र पङ्क्ति अन्तरबाली (Row Intercropping) गरी जम्मा चार प्रकारका हुन्छन् (Chapagain, 2014)। मिश्रित खेती प्रविधिमा एकैसाथ दुई वा बढी बालीहरू निश्चित दुरी कायम नगरी बाली विशेष पृथकता दुरी बिना नै खेती गरिन्छ। घुसुवा अन्तरबाली खेतीमा पहिलो बाली परिपक्व हुनु अघि दोस्रो बाली घुसुवा बालीका रुपमा रोपिन्छ। हार अन्तरबाली खेतीमा दुई वा दुई भन्दा बढी बालीहरू निश्चित दुरी कायम गरी हारहरूमा एकै साथ लगाइन्छ। यसमा एक किसिमको बाली एउटा हारमा र अर्को किसिमको बाली अर्को हारमा रोपिन्छ। यो तरिका माटोको क्षति कम गर्न, पानीबाट हुने क्षति न्यूनीकरण गर्न, र माटोको उर्वरता बढाउनका लागि प्रयोग गरिन्छ। पङ्क्ति अन्तरबालीमा विभिन्न बालीहरू वैकल्पिक पङ्क्तिहरूमा लगाइन्छ। बालीहरूको वृद्धि ढाँचा फरक भएमा यो प्रणाली प्रभावकारी हुन्छ। यस प्रविधिबाट बोटहरूको बिचमा पर्याप्त स्थान र स्रोतको प्रयोगमा सन्तुलन कायम राख्न सकिन्छ।