Description
बिरुवाले प्रकाश संश्लेषणको क्रममा हावाबाट लिएको कार्बनडाइअक्साइड कार्बोहाइड्रेटको रूपमा संश्लेषण गर्दछ जसलाई जरा, काण्ड, हाँगा, डाँठ र पातहरू जस्ता विभिन्न भागहरूको रूपमा भण्डारण गर्दछ । यी सबैलाई बायोमास भनिन्छ । यो बायोमास सड्ने क्रममा, कार्बनडाइअक्साइड र मिथेन ग्यासको उत्सर्जन भई वायुमण्डलमा फिर्ता जान्छ । कृषिबालीको पराल र सुकेको गोबर जस्ता बाँकी रहेका बायोमास जलाउँदा कार्बन र धुवाँ हावामा मिसिन्छ जुन वातावरणका लागि राम्रो होइन ।
बायोमासलाई बिना अक्सिजन वा कम अक्सिजनको उपलब्धतामा अत्यधिक तापक्रम (४०० देखि ८०० डिग्री सेन्टिग्रेड) मा जलाएर बनेको एक किसिमको अङ्गारलाई बायोचार भनिन्छ । बायोचार बनाउँदा वनस्पतिमा रहेको कार्वनको थोरै मात्रा कार्बनडाइअक्साइडको रूपमा उडेर जान्छ र अधिकांश कार्बन (९०% भन्दा बढी) बायोचारमा सुरक्षित रहन्छ जसले गर्दा पृथ्वीबाट वायुमण्डलमा जाने कार्बनडाइअक्साइडको मात्रा कम हुन जान्छ । कृषकहरूले बायोचार बनाइ खेतिबालीमा प्रयोग गर्दा उत्पादकत्त्व बढ्ने र यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा समेत सुधार ल्याउने देखिएको छ । बायोचारमा अत्यधिक छिद्रहरू हुन्छ जसले गर्दा यसमा पानी तथा पोषक तत्त्व धारण गर्न सक्ने क्षमता बढी हुने र बिरुवाले आवश्यकताको आधारमा बिस्तारै पोषक तत्त्व लिन सक्ने भएकोले यसको महत्त्व माटो सुधारसँगै बालीबिरुवाको वृद्धि विकास तथा उत्पादकत्व वृद्धिमा समेत रहेको पार्इन्छ । बायोचार आफैमा मल होइन र यसलाई मलको विकल्पको रूपमा लिनु हुन्न तर यसलाई गहुँत तथा मलखादसँग मिसाएर प्रयोग गरेमा माटो सुधारसँगै उत्पादकत्व वृद्धिमा सकारात्मक प्रभाव पुऱ्याउँछ ।