२४ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण २०७५

आर्थिक वर्ष २०७४/०७५ मा भएका मुख्य गतिबिधि तथा संक्षिप्त प्रगति विवरण

२०७५ असोज ६ गते, शनिवार, पोखरा ।

यस आर्थिक वर्ष देखि जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) २४ वर्ष पुरा गरेको अवसरमा संस्थाको बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम आयोजना गरिएको हो । आर्थिक वर्ष २०७४/०७५ मा भएका मुख्य गतिबिधिहरु  तथा संक्षिप्त प्रगति विवरण निम्नानुसार प्रस्तुत गरिएको छ l

  • गत आर्थिक वर्षमा ली–बर्डले नेपालका ३२ जिल्लाका ५२ नगरपालिका र १०६ वटा गाउँपालिकाहरूमा २१ वटा परियोजनाहरू कार्यान्वयन गर्यो । यी परियोजनाहरूबाट ९७ हजार ६ सय ३१ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भए l सोहि आ.व. मा ली–बर्डले ४ हजार ४ सय ६१ कृषक समूहहरू, २७ वटा कृषि सहकारी र ५ वटा सामुदायिक वनहरुसँग प्रतक्ष्यरूपमा काम गर्यो l यी समूह, सहकारी र सामुदायिक वनमा १ लाख १६ हजार ९४ जना सदस्यहरु आबद्ध रहेका मध्ये ६४ प्रतिशत महिला छन् l
  • आ.व. २०७४/७५ मा ली–बर्डको कूल बजेट रू २६ करोड २८ लाख ३९ हजार ६ सय ६६ रूपैयाँ रहेको थियो l  कूल बजेट मध्ये कार्यक्रम तर्फ रू २१ करोड ८९ लाख १३ हजार ६ सय ७ रूपैयाँ र प्रशासनिक तर्फ रू ४ करोड ३९ लाख २६ हजार ५९ रूपैयाँ खर्च भएको छ ।
  • आ.व. २०७४/७५ मा ली–बर्डले नेपाल सरकारको आन्तरिक राजस्व कार्यालय पोखरा र ठुला करदाताको कार्यालय ललितपुरमा विभिन्न शिर्षक अन्तर्गत ८६ लाख ४४ हजार ७ सय ३० रुपैया कर दाखिला गरेको छ ।
  • ली–बर्डमा हाल ७० जना पूर्णकालीन र १९ जना आंशिक कर्मचारीहरू कार्यरत छन् ।
  • गत आ.व. भित्र ली–बर्डले नयाँ दातृ निकायहरू कारितास स्विटजर्ल्याण्ड र मर्सी रिलिफ सिंगापुरसँग सहकार्य प्रारम्भ गरेको छ भने अन्य दातृ निकायहरूसँग पनि समन्वय भइरहेको छ l

आर्थिक वर्ष २०७४/०७५ मा ली–बर्डले हासिल गरेका उल्लेखनीय उपलब्धी तथा पहलहरू   

  • लट्टेको संकलन तथा अनुसन्धान गरि स्थानीय जातहरु मध्येबाट छनोट गरिएको ‘रामेछाप हरियो लट्टे’ लाई जातीय उन्मोचन तथा दर्ता समिति बाट सिफारिस भएको छ l नेपालमा लट्टे बालीको जात सिफारिस भएको यो पहिलो उदाहरण हो l यो जात हरियो साग खानका लागि सिफारिस गरिएको हो  l
  • ली–बर्डको सहजीकरणमा स्थापना भएका २० वटा वटा सामुदायिक बीउ बैंकहरुले ७२ किसिमका बालीहरूका १०९६ स्थानीय जातहरु संरक्षण गरिरहेका छन् l साथै यी मध्ये १४ वटा सामुदायिक बीउ बैंकहरुले गत आ.व. मा विभिन्न बालीहरूका स्थानीय तथा उन्नत जातका १८९ मे. टन बीउ उत्पादन गरेका थिए l गत आ.व. मा स्थानीय स्तरमा ५ हजार ३ सय ७८ कृषकहरुले सामुदायिक बीउ बैंकहरुबाट बिउ प्रयोग गरेका थिए l
  • बिपन्न बर्गका मानिसहरुको पारिवारिक पोषणको अवस्थामा सुधार ल्याउन २० वटा जिल्लाहरूमा संचलान गरिएको घर बगौंचा परियोजना हालै सम्पन्न भएको छ l यो परियोजनाको शिकाई र असल अभ्यासको निरन्तरता र व्यापकताका लागि कृषि बिभाग, कृषि प्रसार निर्देशनालयले घरबारी बगैंचा स्थापना तथा व्यवस्थापन कार्यक्रम संचानल कार्यविधि तयार पारी अनुमोदन गरेको छ l
  • गत आ.व. मा ५६ हजार ४ सय ४५ जना कृषकहरूले दीगो कृषि प्रबिधि सम्बन्धि औजार तथा सामग्रीहरू खरिद गरी प्रयोग गरे, जसमध्ये ८० प्रतिशत महिलाहरु थिए l यसबाट कृषि कार्यमा महिलाहरूको कार्यबोझ घटाउन मद्दत पुगेको छ l
  • राष्ट्रिय जीनबैंक, वायोभर्सीटी र सामुदायिक बिउ बैंक संघ नेपालसँग समन्वय गरि नेपालमा सामुदायिक बीउ  बैंक सम्बन्धि दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ l गोष्ठी ले १० बुंदे सुझाउ तयार गरि कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालय, मातहतका निकाय र प्रादेशिक मन्त्रालय तथा कार्यालयहरुमा ध्यानाकर्षण तथा कार्यान्वयनका लागि बुझाएको छ l
  • गत आ.व. सम्ममा ली–बर्डको विभिन्न परियोजनाहरू अन्तर्गत बर्दिया, कैलाली, दांग, नवलपुर, महोत्तरी र सिराहा जिल्लाहरूमा ९४५ वाट देखि ९४५० वाट क्षमताका २० वटा सौर्य उर्जामा आधारित सिंचाई प्रणालीहरु  स्थापना भएका छन् l यसबाट ४०१ घर धुरी प्रत्यक्ष लाभान्वित भएका छन् . ९५ हेक्टर जमिनमा सिंचाई सुबिधा पुगेको छ भने वर्षमा एउटा बाली मात्र लगाउने जग्गामा तीन बाली लगाउन थालिएको छ l साथै कृषकहरु क्रमश तरकारी तथा बीउ उत्पादन तर्फ आकर्षित भएका छन् र नगद आम्दानि पनि बढेको छ l
  • प्रतिनिधी सभा तथा प्रदेश नं २ का महिला सभासद, सरकारी निकायको उच्च तहमा रही कार्यरत महिला अधिकृतहरु र स्थानीय निकायमा कार्यरत कर्मचारी तथा निर्वाचित पदाधिकारीहरुको जलवायु परिवर्तन तथा अनुकुलन विषयमा क्षमता बिकास गर्ने उदेश्यले महोत्तरी जिल्लामा १ दिने स्थलगत भ्रमण तथा छलफल कार्यक्रम आयोजना गरियो l कार्यक्रमका सहभागी सभासदहरुले जलवायु परिवर्तनबाट महिलाहरूमा परेको असर र  अनुकुलनका क्रियाकालपहरु विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् l
  • सल्यान जिल्लामा विपन्न वर्गका कृषकहरुको जिविकोपर्जान सुधारमा टेवा पुर्याउने उदेश्यले संचालन गरिएको कार्यक्रममा २६ सय २० घरपरिवार संलग्न भएका छन्,  ४ वटा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ र महिला सहयात्रासँगको सहकार्यमा १ करोड ८२ लाख १२ हजार ऋण परिचालन गरिएको छ l यसबाट गत ४ महिनामा १९ टन ताजा तरकारी उत्पादन तथा बिक्रि भएको छ र सहभागी कृषकहरुको नगद आम्दानि बढेको छ l
  • मुक्त कमैया, बिपन्न वर्ग र भूकम्प प्रभावित घरपरिवारको जीविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि गर्ने  उदेश्यले बर्दिया, कैलाली, हुम्ला र सिन्धुपाल्चोक जिल्लाहरूमा संचालन गरिएको परियोजना अन्तर्गत ली–बर्ड, सहकारी र स्थानीय निकायको सहयोगमा ६ वटा सहकारीमा सामुदायिक पशुपालन प्रबर्धन कोष स्थापना गरिएको छ l कोषमा हालसम्म ५१ लाख ८१ हजार ४ सय रुपैंया जम्मा भएको र कोषबाट ३ सय ८४ मुक्त कमैया, बिपन्न वर्ग र भूकम्प प्रभावित सदस्यहरुले ६ प्रतिशत वार्षिक व्याजदरमा ऋण लिएर बाख्रा तथा बंगुर पालन कार्यक्रम संचालन गरिरहेको छन् l यसबाट ती सदस्यहरुको घरमा उल्लेख्यरूपमा बाख्रा तथा बंगुरको संख्या बृध्धि भइ आय आर्जनमा टेवा पुर्यायको छ l
  • ली–बर्डले गत आ.व. देखि प्रादेशिक मन्त्रालय र स्थानीय निकायहरूको आवश्यकता अनुसार प्राबिधिक सहयोग उपलब्ध गराउने कार्य शुरु गरेको छ l यस अन्तर्गत गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि ”मुख्य मन्त्रि वातारण मैत्री कृषि गाउँ कार्यक्रम” कार्यविधि तयार पार्ने काम सम्पन्न भै सकेको छ भने अछाम जिल्लाको बान्नीगढी जयगढ़ गाउँपालिकाको पाँच वर्षीय कृषि तथा पशुपालन रणनीतिक योजना तर्जुमा गर्ने कार्य प्रारम्भ भैसकेको छ l

थप जानकारीका लागि सम्पर्कः

भरत भण्डारी, कार्यक्रम कार्यान्वयन निर्देशक | फोन नं.  ०६१–५३५३५७, इमेल : info@libird.org

Download PDF

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*