Description
नेपालका ७५ वटै जिल्लाहरूमा खेती गरिने कोदो [Finger millet: Eleusine coracana (L.) Gaertn.] क्षेत्रफलका हिसाबले धान, मकै र गहुँ पछिकाे चौंथो महत्त्वपूर्ण पोषिलो र गुनिलो खाद्यान्न बाली हो । हातका
औंलाजस्ता बाला हुने भएकाले अङ्ग्रेजीमा यसलाई फिङ्गर मिलेट भनिन्छ । कृषि विकास मन्त्रालयको तथ्याङ्क, २०१४ अनुसार नेपालमा २ लाख ७१ हजार हेक्टरमा कोदोखेती गरिन्छ, जसबाट १.१ टन/हेक्टरको औसतमा ३ लाख ४ हजार टन उत्पादन हुन्छ । कोदामा ७२.६% कार्बोहाइड्रेट, ७.७% प्रोटिन, ३.६% रेसा, २.७% खनिज पदार्थहरू तथा १.५% चिल्लो पदार्थ पाइन्छ । १०० ग्राम कोदामा ३४४ मी.ग्रा. क्याल्सियम, २८३ मी.ग्रा. फस्फोरस, ३.९ मी.ग्रा. फलामका साथै प्रशस्त मात्रामा म्याँग्निज, जिङ्क र पोटासियम पाइन्छ । कोदामा हाम्रो शरीरलाई चाहिने प्रशस्त पोषक तत्त्वहरू पाइने भएकाले गर्भवती महिला, केटाकेटी, मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरूका लागि यो उत्तम खाना हो ।