मितिः २०७१ पुष १४, अग्यौली, नवलपरासी
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), पोखराको सहजिकरणमा नेपालका विभिन्न १२ जिल्लामाहरुमा स्थापना भएका सामुदायिक बीउ बैंकहरुले संरक्षण गरिरहेका ६२ प्रजातीका ९१६ स्थानीय जातहरु परस्थानीय संरक्षण, संवर्धन तथा भावि पुस्ताको सहज उपलब्धता तथा पहुँचका लागि राष्ट्रिय जीन बैंक, खुमलटार, ललितपुरलाई हस्तान्तरण गरिएको छ । सामुदायिक बीउ बैंकहरु मूलतः स्थानीय जातका बालीहरूको दिगो संरक्षण तथा उपयोगका लागि तिनीहरूको बीउको खोजीनीति, सङ्कलन, नियमित उत्पादन तथा भण्डारण गरी स्थानीय कृषकहरूलाई सर्वसुलभरुपमा बीउ उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कृषकहरुको प्रतिनिधिमूलक समूह/संस्था हो । ली–बर्डले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बायोभर्सीटी इन्टरनेशनलसँग मिलेर वि.सं. २०६० सालमा बारा जिल्लाको कचोर्वा गा.वि.स.मा सामुदायिक बीउ बैंक स्थापना गर्ने कार्यको थालनी गरेको थियो । हालसम्म ली–बर्डले युएनडीपी/विश्व वातावरण कोष; आईडीआरसी, क्यानडा; विकास कोष, नर्वे; आईफाड, युरोपिएन कमिसन लगायतका संस्थाहरुसँगको सहकार्यमा नेपालका १२ वटा जिल्लाहरूमा १५ वटा सामुदायिक बीउ बैंकहरू स्थापना गर्न सहयोग तथा सहजिकरण गरेको छ भने थप केही सामुदायिक बीउ बैंकहरू स्थापनाको क्रममा रहेका छन् ।
सामुदायिक बीउ बैंकहरुले सञ्चालन गर्दै आएका स्थानीय जातका बालीहरुको संरक्षणको कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन, एकर्काबाट सिक्ने र सिकाउने वातावरणको निर्माण गर्न वि.सं. २०६९ साल फागुन महिनामा ली–बर्डको सहजिकरणमा ‘सामुदायिक बीउ बैंकहरुको राष्ट्रिय समन्वय समिति’ स्थापना गरिएको छ । यस समन्वय समिति अन्तर्गत हालसम्म १७ वटा सामुदायिक बीउ बैंकहरु आवद्ध भईसकेका छन् । यी सामुदायिक बीउ बैंकहरुले १,००० भन्दा बढी स्थानीय जातका बीउहरु संरक्षण गरिरहेका छन् । यस कार्यक्रम मार्फत यिनै सामुदायिक बीउ बैंकहरुले संरक्षण गरिरहेका स्थानीय जातका बीउहरु राष्ट्रिय जीन बैंकलाई हस्तान्तरण गर्न लागिएको हो ।
स्थानीय जातका बीउहरु वर्तमान र भविष्यको खाद्य सुरक्षाका आधार स्तम्भ हुन् । यी सामुदायिक बीउ बैंकहरुको अनुपस्थितिमा कतिपय जातहरु यस संसारबाट लोप भईसकेका हुने थिए । अझै पनि सामुदायिक बीउ बैंक नभएका नेपालका अधिकांश भू–भागहरुमा बहुमूल्य स्थानीय जातहरु निरन्तर लोप भई नै रहेका छन् । यिनीहरुको दिगो संरक्षणका लागि सरकारी निकाय, गैरसरकारी संघसंस्था, कृषक, कृषक समूह, नागरिक समाज सबै आ–आफ्नो क्षेत्रबाट लागि पर्नु आवश्यक छ ।
हालसम्म स्थापना गरिएका अधिकांश सामुदायिक बीउ बैंकहरु गैरसरकारी संघसंस्थाहरुको सहयोग तथा सहजिकरणमा स्थापना भएका छन् । यी सामुदायिक बीउ बैंककहरु मध्ये केही आफैं स्थानीय जातका बालीहरु संरक्षण गर्न सक्षम भईसकेका छन् भने केही त्यसतर्फ लम्किरहेका छन् र केही सामुदायिक बीउ बैंकहरु बाह्य सहयोग बिना निरन्तर सञ्चालन हुनसक्छन् भन्न सक्ने अवस्थामा छैनन् । अतः सामुदायिक बीउ बैंकहरुले हालसम्म संकलन तथा संरक्षण गरिरहेका महत्वपूर्ण स्थानीय जातका बालीहरुलाई राष्ट्रिय जीन बैंकमा दिर्घकालिन रुपमा संरक्षणका लागि पठाउन लागिएको हो । जहाँबाट भविष्यमा कृषकहरु, कृषक समूहहरु, सामुदायिक बीउ बैंकहरु र अनुसन्धानकर्ताहरुले ती बीउहरुको प्रयोग गरी खाद्यसुरक्षमा टेवा पु¥याउन सक्ने छन् ।
यस बीउ हस्तान्तरण कार्यक्रममा झापा, संखुवासभा, सिन्धुली, बारा, धादिङ्ग, तनहुँ, नवलपरासी, दाङ्ग, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, मुस्ताङ्ग र जुम्लामा अवस्थित सामुदायिक बीउ बैंकका प्रतिनिधिहरु आफ्नो सामुदायिक बीउ बैंकमा संरक्षण गरिएका र आफ्नो क्षेत्रमा उपलब्ध स्थानीय जातहरुको बीउ लिएर उपस्थित भएका थिए । यस कार्यक्रममा सामुदायिक बीउ बैंकहरुले कृषि जैविक विविधता संरक्षणमा देखाएको उत्साहलाई हौसला प्रदान गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय जीन बैंक, खुमलटार, ललितपुरका प्रमुख मदनराज भट्ट, क्षेत्रीय कृषि निर्देशनालय, पोखराका निर्देशक लेखनाथ आचार्य, ली–बर्डका कार्यकारिणी बोर्डका अध्यक्ष कृष्णप्रसाद बराल, वायोभर्सिटी ईन्टरनेशनलका क्षेत्रीय परियोजना संयोजक एवं कृषि जैविक विविधता संरक्षण विशेषज्ञ डा. भुवन रत्न स्थापित र जिल्ला कृषि विकास कार्यालय नवलपरासीका प्रमुख यमनारायण देवकोटाको उपस्थिति रहेको थियो ।
सामुदायिक बीउ बैंकहरुमा संरक्षण गरिएका स्थानीय जातका बीउहरु राष्ट्रिय जीन बैंकलाई हस्तान्तरण कार्यक्रमको आयोजना ली–बर्डले गरेको हो । ली–बर्ड वि.सं. २०५२ सालमा कास्की जिल्लामा स्थापना भएको गैरनाफामूलक गैरसरकारी संस्था हो । सहभागितामूलक अनुसन्धान र विकासका पद्धतिहरु अपनाई प्राकृतिक स्रोतहरुको दिगो व्यवस्थापन गर्दै ग्रामीण भेगमा बसोवास गर्ने गरिव तथा सिमान्तकृत कृषक समुदाय, विशेष गरी महिलाहरुको जिविकोपार्जन सुधारमा योगदान पुर्याउनु यसको लक्ष्य रहेको छ । हाल ली–बर्डले नेपालका २९ जिल्लाहरुमा प्रत्यक्षरुपमा र थप १० जिल्लाहरुमा साझेदार संस्थाहरुसँग समन्वय गरी विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ ।
ली–बर्डले कृषि जैविक विविधताको दिगो यथास्थानीय संरक्षण तथा उपयोगका लागि अनुसन्धान तथा विकासमूलक विभिन्न परियोजनाहरु सञ्चालन गरिसकेको छ भने थुप्रै परियोजनाहरु सञ्चालन भईरहेका छन् । यस्ता परियोजनाहरुबाट विकास भएका प्रविधि, पद्धति र तौरतरिकाहरु नेपालमा मात्र नभएर विश्वका विभिन्न देशहरुमा पनि विस्तार भईरहेको छ । सामुदायिक बीउ बैंक यस्तै एक पद्धति हो; जसबाट एकातिर लोपहुन लागेका सयौं स्थानीय जातका बीउहरुको संरक्षण सम्भव भएको छ भने अर्कातिर कृषकहरुमा बीउको पहुँच पनि बढिरहेको छ । अन्ततः बदलिँदो जलवायु परिवर्तनको अवस्थामा अनुकूलित हुनाका लागि एवं दिगो खाद्य सुरक्षा तथा सम्प्रभुताका लागि पनि यस्ता सामुदायिक बीउहरु अपरिहार्य छन् ।
Download PDF