ढोडी सागः चिनारी तथा खेती प्रविधि
dhodisaagcvr
Year

February 2023

Description

ढोडी सागको वैज्ञानिक नाम Ipomea aquatica हो भने अङ्ग्रेजीमा यसलाई वाटर स्पिनाच (Water Spinach) भनिन्छ । यो साग Convolvulaceae परिवारमा पर्दछ (S. Lohani* , S. L. Shrestha, R. Rawal, Y. K.C., and L. N. Aryal, 2022) । ढोडी साग नेपालमा कम उपभोग गरिने बालीमा पर्दछ । तथापि नेपालका विभिन्न स्थानका समुदायहरुले परापूर्वकालदेखि ढोडी सागको तरकारी खाँदै आएको पाइन्छ । यसको उत्पति दक्षिणपूर्वी एसिया, दक्षिण चीन र भारत लगायतका दक्षिण एसियाली देशहरुमा भएको मानिन्छ । ढोडी सागको उन्नत जातलाई क्याङकुङको साग भनेर पनि चिनिन्छ । नेपालका विभिन्न स्थानमा यसलाई फरक फरक नामले चिनिन्छ । चौधरी समुदायमा कर्मी साग, कर्मुवा साग, केरुङ्गे साग, रमुवा साग, ढोडी साग र पहाडी समुदायमा नारी सागको नामले चिनिन्छ । यसको पात तथा कलिलो डाँठ सहितको भाग सागका रुपमा खाने गरिन्छ । यो सागको रैथाने जात खोलानालाको किनारामा, पानी जम्ने स्थान तथा खाल्डा परेको ठाउँमा आफैँ उम्रने, हुर्कने तथा फैलने गरेको पाइन्छ । यस सागलाई स्थानीय समुदायले टिपेर खाने तथा नजिकको स्थानीय बजारमा बिक्री गर्ने गरेको पाइन्छ । यो साग समुद्री सतहदेखि १,००० मिटर उचाईसम्ममा राम्रो उत्पादन हुन्छ । नेपालमा प्रायः अन्य हरिया साग नभएका समयमा र स्वाद फेर्नका लागि तरकारीका रुपमा ढोडी साग खाने चलन छ । पछिल्लो समय मानिसमा प्राङ्गारिक तथा स्वस्थ्यकर खाना खाने प्रचलन बढेसँगै ढोडी सागको माग तथा उपयोग बढदै गएको देखिन्छ । यो प्राङ्गारिक उत्पादन हुने, फरक किसिमको स्वाद हुनुका साथै पोसिलो भएकाले हालका दिनमा सहरी क्षेत्रमा समेत यसको माग बढ्दै गएको छ । विभिन्न अध्ययनको नतिजा अनुसार ढोडी सागमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएकाले पोषणको दृष्टिकोणले पनि यो साग स्वस्थ्यवर्धक रहेको दखिन्छ ।