पातकाे थैला : तरकारी बालीको बेर्ना उत्पादनका लागि स्थानीय विधि
leaves bag
Year

September 2024

Description

तरकारी नर्सरी भनेको बीउ रोपेपछि बिरुवा सार्ने बेला नभएसम्म बिरुवालाई हुर्काउने ठाउँ हो । धेरैजसो तरकारी बालीका लागि राम्रोसँग हुर्कन र राम्रो उत्पादन दिन मुख्य जग्गामा सार्नुभन्दा पहिला नर्सरीमा हुर्काउनु आवश्यक पर्छ र बाली अनुसार सिफारिस गरिएको समयावधि भित्र मुख्य प्लटमा लगाउनु पर्छ । सामान्यतया, साना बीउ भएका तरकारी बालीहरू जस्तै: भन्टा, खुर्सानी, गोलभेँडा, काउली, बन्दागोभी, प्याज आदिको बेर्ना पहिले उत्पादन गरिन्छ । त्यस्तै, लहरेबालीहरू (काँक्रा, फर्सी, करेला आदि) को बेमौसमी खेती गर्नको लागि पनि पोलीब्यागमा बिरुवा उत्पादन गर्ने गरिन्छ । ग्रामीण क्षेत्रमा व्यावसायिक बिरुवा उत्पादन गर्ने फर्म कम भएकाले किसानहरू आफूलाई चाहिने बिरुवा आफैँले उत्पादन गर्ने गरेका छन् । यसका लागि अतिरिक्त समय र ज्ञान चाहिन्छ तर आफँैले उब्जाएको बिरुवाको जातको बारेमा जानकारी हुने तथा आवश्यकता अनुसार बिरुवा उत्पादन गर्न सकिने र स्वस्थ बिरुवाहरू पनि उत्पादन गर्न सकिने हुन्छ । साथै, अन्यत्रबाट ल्याएको बिरुवासँगै सङ्क्रमित माटोबाट आउन सक्ने रोगहरू पनि नियन्त्रण गर्न सकिन्छ । आजकल ग्रामीण भेगमा पनि तरकारीको बेर्ना उत्पादनमा प्लास्टिक ट्रे र पोली ब्यागहरूको प्रयोग बढ्दो छ । यद्यपि यी सामग्रीहरूको बढ्दो प्रयोगले जल तथा जमिन प्रदुषणसँगै पारिस्थितिकीय प्रणालीमा नै नराम्रो असर पारिरहेको छ । प्लास्टिकजन्य प्रदुषणले मानव स्वास्थसँगै अन्य जीवहरूलाई पनि असर गरिरहेको हुन्छ किनकि यो सयौँ वर्षसम्म पनि वातावरणमा रहिरहन्छ र यसले हानिकारक रसायनहरू उत्सर्जन गरी वातावरणमा असर पुर्याउँदछ । यसर्थ, कृषि क्षेत्रमा प्रयोग हुने प्लास्टिक जन्य सामग्रीहरूले वातावरणमा पार्ने असरलाई न्यूनीकरण गर्न विकल्पहरू आउनु जरुरी छ ।