Description
ग्रामीण वस्तिहरुमा सुन्दर घरहरु छन्, जमिन छ तर घरबगैंचा व्यवस्थित छैनन् । सरोकारवालाहरुले घरबगैंचा व्यवस्थापन सम्बन्धि कार्यहरु गरिरहेका छन् । तथापि घरबगैंचा व्यवस्थापन सम्बन्धि आवश्यक ज्ञान र सिप न्यून रहेकाले धेरै जसो घरबगैंचा यथोचित व्यवस्थित छैनन् । कृषकहरुमा खाद्य तथा पोषणको महत्वको बारेमा ज्ञानको कमी छ । घरबगैंचालाई विविधीकरण गर्नका लागि उचित बाली छनौट र ढाँचा निर्माण कसरी गर्ने भन्ने प्राविधिक ज्ञानको अभाव अझै छ । यिनै सवालहरुलाई दृष्टिगत गरी घरबगैंचा व्यवस्थापन गर्न टेवा मिलोस् भन्ने उद्देश्यले ग्रामीण परिवेश अनुरुप यो कार्यविधि पुस्तिका तयार गरिएको छ । यस पुस्तिकामा ग्रामीण परिवेशमा घरबगैंचाको आधुनिकीकरणको लागि आवश्यक पर्ने विभिन्न अङ्गहरुको वैज्ञानिक व्यवस्थापनका विधिहरु एकैठाउँमा समावेश गरिएका छन् । यो पुस्तिका विभिन्न लेख, रचना तथा पुस्तकहरुमा उल्लेख गरेका जानकारी तथा कार्यक्षेत्रको अनुभवको आधारमा तयार पारिएको छ । यसले घरबगैंचाको आधुनिक व्यवस्थापनको लागि आवश्यक विधि र सरोकारवालालाई घरबगैंचा व्यवस्थापनको प्रकृयाका बारेमा सहयोग पुग्नेछ ।