Description
औेपचारिक अनुसन्धान कम भएका बालीहरुमध्ये लट्टे एक महत्वपूर्ण बाली हो । तराईदेखि ३५०० मिटरको उचाईसम्मको हावापानीमा खेती गर्न सकिने यो बाली नेपालका घरबारीहरुमा परापूर्वकालदेखि नै सजिलै पाइने गरेको छ । वैशाख देखि जेठ महिनामा शहरी क्षेत्रमा छिटपुट रुपमा साग बिक्रीका लागि राखिने गरिए पनि यस बालीको व्यावसायिक खेती भने कमै हुने गरेको पाइन्छ । उच्च पहाडका जिल्लाहरुमा लट्टेलाई खाद्यान्नका रुपमा प्रयोग गरिने भए पनि तराई तथा मध्यपहाडका जिल्लाहरुमा सागका रुपमा खाने चलन छ । यस बालीले सुक्खा सहने तथा कम मलिलो जग्गामा समेत राम्रो उत्पादन दिने भएकाले मलखाद र चिस्यान कम भएको जग्गामा पनि यसबाट राम्रो उत्पादन लिन सकिन्छ । विभिन्न रंगहरुमा फुल्ने लट्टेले खेतबारीलाई पनि मनमोहक बनाउँदछ ।
रायो र पालुङ्गोको तुलनामा लट्टेमा सुक्ष्म पोषण तत्वहरू विशेष गरी फलाम प्रचुर मात्रामा पाइने भएकाले यो बाली अत्यन्तै पोषिलो हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित भएकाले ग्लुटिन पचाउन नसक्नेहरुका लागि यसको परिकार निकै प्रभावकारी मानिन्छ ।