News Published in NagarikNews 23 Sep 2010

 

यिनै हुन् मदन पुरस्कार विजेता

गिरिश गिरी, काठमाडौं, असोज ७

बैतडीका ४८ वर्षीय नरबहादुर साउद २० वर्षपछि राजधानी आउँदैछन्। दुर्घटनामा कम्मर तलको भाग चल्न छाडेपछि ह्विल चेयरलाई साथी मान्दै आएका साउदका निम्ति काठमाडौं आउने साइत जुराइदियो, मदन पुरस्कारले।  'नेपालका बालीनाली र तिनको दिगो खेती' किताबका लागि पूर्व कृषि अधिकृत साउदले यस वर्षको मदन पुरस्कार पाएका हुन्।

 

५२ वर्ष पहिले कृषिमा आधारित 'उद्यान' का निम्ति गंगाविक्रम सिजापतिलाई सो पुरस्कार दिइएको थियो। ०४१ सालमा सरकारी छात्रवृत्तिमा हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालय, पालमपुरबाटस्नातक गरेका साउदले फर्केर दुग्ध विकास संस्थानमा जागिर खाए। त्यसै क्रममा उनी दुर्घटनामा परेका हुन्। 'दूधकै ट्यांकर चढेर बुटवलबाट सुर्खेत जाँदै गर्दा,' उनले फोनमा नागरिकसँग भने, 'ट्यांकर नालीमा गएर ठोकियो, अरुलाई केही भएन, मचाहिँ सद्दे रहिनँ।'

साउद बजार क्षेत्रभन्दा १० किलोमिटर टाढाको उल्टाखाम गाउँमा बस्दै आएका छन्। राजधानी त परको कुरा, आफू बसिरहेको कञ्चनपुर जिल्ला सदरमुकाम समेत २० वर्षमा एकपटक मात्र पुगेका छन्।

दुर्घटनापछि उनको जागीर मात्र बिथोलिएन, पारिवारिक जीवन पनि दुर्घटित भयो। 'अफिसले सहानुभूति राखेर मासिक चार सय ५२ रुपियाँ अशक्त वृत्ति दिन थाल्यो,' उनले भने, 'माइत गएकी श्रीमती फर्केर आइनन्।'

गएको असारमा मात्रै अशक्त वृत्ति बढाएर तीन हजार रुपैयाँ पुगेको उनको जीवनको एउटा सुखद खबर थियो। 'त्यसपछिको रमाइलो खबर भनेको यही मदन पुरस्कार हो,' उनले भने।
जीवनकै पहिलो किताबमा १५ वर्ष लगानी गरेको उनले सुनाए। 'पहिले पाण्डुलिपि साझा प्रकाशन पठाएँ,' उनले भने, 'तर, त्यहाँ पनि सुरुमा विश्वास गरिएन।'
कृषि विशेषज्ञ डा. फणिन्द्रप्रसाद न्यौपानेको पाण्डुलिपि पढेपछि कृषिको क्षेत्रमा प्रथम दर्जाको कृति टिप्पणी गरेपछि किताब गत वैशाखमा मात्र बाहिर आएको हो।

उनको किताब सात खण्डमा बाँडिएको छ। रासायनिक मलको बढ्दो फेसनले परनिर्भर मात्र होइन, कृषि विषको अम्मली बनाउँदै लगको उनको भनाइ छ।
'हिँडडुल गर्न नसके पनि जानेको ज्ञान बाँड्न पाए हुन्थ्यो भन्ने चाहनासम्म राखेको हुँ,' उनले भने, 'मदन पुरस्कार पाउँछु भन्ने त चिताएकै थिइनँ।'