उत्परिवर्तनशील बाली प्रजनन् (Evolutionary Plant Breeding): के हो, किन र कसरी गरिन्छ

Year: 2020
Authors: Bal Krishna Joshi, Dipendra Kumar Ayer, Krishna Hari Ghimire, Devendra Gauchan
Download File
Download File
Description:
नेपालमा ६५% जनसंख्या कृषिमा आधारित छन् । जग्गा हुने कृषकहरुको ५३% कृषकसंग प्रति घरधुरी औसत १० रोपनी (०.५ हेक्टर) मात्र जग्गा छ । हालसम्म नेपालमा बिभिन्न ७७ बालीको ६७१ वटा विकासे जातहरु दर्ता तथा उन्मोचन गरिएको छ । यी सबै जातहरुमा आनुवंशिक विविधता एकदमै न्यून छ र यस्ता जातहरुलाई एकैनासे वा एकरुपिय जात भनिन्छ । यी जातहरुमा उत्परिवर्तनशील गुण (सन्तानै पिच्छे नयाँ नयाँ गुण आउने) नभएकोले समयानुकुल तथा ठाउँ अनुकुल आफुलाई परिवर्तन गर्न सक्दैनन जसले गर्दा यी बालीमा नयाँ नयाँ रोग-किराको महामारी हुने, सुख्खा, धेरै तातो वा चिसो सहन नसक्ने, आदि जस्ता समस्याहरु देखिन्छन् । प्रत्येक ठाउँ र हरेक समय परिवर्तनशील भएको हुँदा, धेरै मात्रामा आनुवंशिक विविधता भएको जात दीर्घकालीन रुपमा बढी उत्पादन दिने वा टिकाउ हुने हुन्छ । स्थानीय जातहरुमा आनुवंशिक विविधता बढी भएकोले यस्ता समस्याहरु न्यून देखिन्छन् । इथियोपियामा ६०% गहुँको रैथाने जातहरुले विकासे जातले भन्दा बढी उत्पादन दिएको उल्लेख छ । नेपालमा औपचारिक रुपमा एकरुपिय जातको प्रचार प्रसार गर्ने व्यवस्था छ भने बहुरुपिय जातलाई पंजीकरण/उन्मोचन गर्ने नीति नियमको अभाव रहेको छ । हाल राष्ट्रिय रुपमा बीउको आपूर्ति मुख्य बालीहरुमा जम्मा १५% र सहायक रैथाने बालीहरुमा जम्मा ५% मात्र औपचारिक बीउ प्रणालीबाट हुने गरेको छ । घरगोठ खेतीस्थलमा भएको कुनै पनि रैथाने जातहरुले सरकारी तथा गैरसरकारी निकायबाट सहयोग र सहुलियत पाउने व्यवस्था छैन । किसानले कृषि जैविक विविधताको संरक्षण, विकास तथा उपयोगमा पुर्याएको योगदानलाई कृषक अधिकारको रुपमा हालको ऐन, नीति नियममा सुरक्षित गरिएको छैन । हालको नीति नियमले बृहत्तर आनुवंशिक विविधता भएको जातहरुलाई पनि सम्मान गरेको देखिदैन । एकरुपिय जातहरु ६७१ वटा भए पनि यसमा निर्वाहमुखी कृषकहरुको पहुँच छैन । नेपालमा ८५% किसानहरु निर्वाहमुखी खेती गर्छन् । उनीहरुसँग विविधतायुक्त हावापानी र खण्डीकृत जग्गा छ, जहाँ विकासे जातहरु खेती गर्न त्यति उपयुक्त हुँदैन । फलस्वरूप सहायक रैथाने बालीहरुमा ९०% र प्रमुख बालीहरुमा ६५% कृषकहरुले आफ्नै रैथाने जातहरु (जुन करिब ३०,००० को संख्यामा रहेको अनुमान छ) नै खेती गर्दै आएका छन् । ती कृषकहरुले परिवर्तित जलवायु, रोग-किरा, सुख्खा , आदिसंग जुध्न आफुसंग भएको आनुवंशिक विविधता नै प्रयोग गर्दै आएका छन् । विकासे जात लगाउँदा कृषक आफैंले बीउ राख्दा अर्को बर्षमा उत्पादन कम हुने र बीउ प्रदायक संस्थाहरु थोरै संख्यामा हुँदा बीउमा सहज पहुँच हुन पनि कठिन भएको देखिन्छ । यस्ता जातहरु लगाउँदा बीउको लागि अरुमा भर पर्नु पर्ने, उत्पादनमा दिगोपना कम हुनुको साथै पर्यावरणीय सेवाहरुमा ह्रास आउने हुन्छ । तसर्थ कमसल तथा न्यून जग्गा , गरिब किसान, न्यून लगानी, परिवर्तित जलवायु, रोग-किरा, कृषिमा युवा पलायन आदि जस्ता समस्याहरुसंग जुध्नको लागि फराकिलो आनुवंशिक आधार भएका बहुरुपीय जातहरुको विकास गर्नुपर्ने देखिन्छ । यसको लागि स्थान बिशेषका तथा उत्परिवर्तनशील जातहरु नै उपयुक्त हुने भएकोले, उक्त जातहरुको विकासको लागि उत्परिवर्तनशील बाली प्रजनन् एक सरल र प्रभावकारी विकल्पको रुपमा आएको छ । बिभिन्न देशहरुमा यो बिधिबाट विकास गरिएका जातहरुले स्थानीय तथा विकासे जातले भन्दा बढी उत्पादन दिएको, रोग-किरा कम लागेको, झारपातको प्रकोप कम भएको, कम लगानी परेको, पोषण तत्व बढी भएको र स्वाद मीठो र पकाउन सजिलो भएको देखिएको छ । कृषक, विद्यार्थी, अनुसन्धान तथा प्रसारकर्ता हरुलाई उबाप्रबारे जानकारी गर्न गराउन सहज हुने हिसाबले यो जानकारी पत्र तयार गरिएको छ ।

Related Publications