बरियो कागुनो र यसको खेती प्रविधि

Year: 2019
Authors: Rita Gurung, Shreeram Subedi, Krishna Hari Ghimire
Download File
Download File
Description:
कागुनो/काउनो (Setaria italica Beauv.) सबैभन्दा पुराना अन्न बालीहरु मध्ये एक हो । यो बाली पुर्वी एसियाली देशहरूमा विशेष गरी चीनमा प्राचीन कालदेखि खेती गरिंदै आएको देखिन्छ । यो घाँसे परिवारमा पर्ने एक बर्षीय बाली हो भने कोदो प्रजातिहरू मध्ये क्षेत्रफलका हिसाबले Pearl Millet (Pennisetum glaucum, बाजरा वा घोगे ) पछि विश्वमा दोस्रो बढी खेती हुने कोदोको प्रजाति हो । फ्याउरोको पुच्छर जस्तो बाला हुने भएकोले अंग्रेजीमा यसलाई फक्सटेल मिलेट (Foxtail Millet) भनिन्छ । नेपालमा पनि यो बाली परापूर्व कालदेखि नै खेती हँुदै आएको पाइन्छ । नेपालका पश्चिमी पहाडी जिल्लाहरू, विशेष गरी कर्णाली क्षेत्रहरू जस्तै डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूमा यसको खेती गरेको पाइन्छ । साथै अन्य पहाडी जिल्लाहरू जस्तैः रामेछाप, काभ्रे, गोरखा, लमजुङ्ग, कास्की, धादिंग, जस्ता जिल्लाहरूमा पनि यो बालीको थोरै मात्रामा भएपनि खेती हुँदै आएको देखिन्छ । विशेष गरी कर्णाली क्षेत्रको स्थानीय खाद्य सुरक्षामा यस बालीको विशेष भूमिका रहेको छ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्ला अन्तर्गत मस्र्याङ्दी, दोर्दी, दुधपोखरी, क्होंलासोथर गाउँपालिका तथा राइनास नगरपालिकाका पहाडी क्षेत्रमा कागुनोको खेती गरिन्छ । कागुनो छोटो समय (करिब ४ महिना) मा नै तयार हुने बाली भएकोले लमजुङ्गका स्थानीय कृषक समुदायले यसलाई अनिकाल टार्ने अन्नको रूपमा लिने गरेका छन् । यसले असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन दिने क्षमता राख्ने भएकाले भोकमरीबाट बचाउन सक्ने बालीको रूपमा लिन सकिन्छ । नेपालमा कागुनोको औसत उत्पादन ८१५ के.जी. प्रति हेक्टर छ । कागुनोको भात, खीर, ढिँडो बनाएर खाने चलन छ भने कोदोसँग मिसाएर रक्सी बनाउन पनि प्रयोग गरिन्छ । साथै पशुपन्छीको आहाराको रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । यति महत्व हँुदाहँुदै पनि हाल आएर विभिन्न कारणले यसको खेती घट्दो क्रममा छ । कागुनो बाली गोड्न र प्रसोधन गर्न गाह्रो हुने भएकोले खेती घट्दै गएको स्थानीय कृषकहरूको भनाई छ ।

Related Publications