सामुदायिक बीउ बैँकः रैथाने बीउ जोगाउने उपाय


Posted on: 5/1/2020

- पीताम्बर श्रेष्ठ

नेपालका धेरैजसो कृषकहरूका लागि थरिथरिका बीउ आवश्यक हुन्छ। ती सबै किसिमका बीउ बजारमा उपलब्ध हुँदैन वा किन्न पाईंदैन। परम्परागत रूपमा कृषकहरूले आफ्नै घरमा धेरै किसिमका बीउ आफैंले जोगाएर राख्ने र नपुग बीउ छिमेकी, आफन्त र साथीभाइहरूको बाट साटासाट वा किनबेच गरेर लगाउने चलन थियो र हाल पनि केही हदसम्म यो चलन कायमै छ।

तर यो चलन क्रमशः घट्दो छ। खासगरी सहर वरपर तथा सुगम क्षेत्रका कृषकहरूमाझ घरमा बीउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढ्दो छ। मानिसहरूका लागि खाद्यान्न र पशुपन्छीका लागि दानाको बढ्दो आवश्यकता पूरा गर्न विकास गरिएका उन्नत जात तथा हाइब्रीड बीउ र प्रविधिको विस्तारसँगै बजारबाट बीउ खरिद गरेर लगाउने चलन सुरू भयो।

खाद्य सुरक्षाका लागि बीउको व्यावसायिकरण गरिएपछि रैथाने वा स्थानीय जातका बीउ क्रमशः लोप हुनु सुरू भए। उन्नत जात र हाइब्रीड बीउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुर्याउने कुरामा दुईमत छैन। तर नेपालको हकमा केही अपवाद बाहेक बजारमा उपलब्ध हाइब्रीड बीउ आयातित हुन्।

बजारबाट बीउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषकहरू बीउमा परनिर्भर बन्दै गईरहेका छन् भने अर्कोतिर रैथाने बीउका साथै बीउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सीप र प्रविधि पनि हराएर गईरहेका छन्।

नेपाल सरकारको तथ्याङ्कले पनि वर्षेनी बीउको आयात बढिरहेको र कृषकहरूको खेतबारीबाट रैथाने बीउ क्रमशः लोप हुँदै गएको देखाँउछ। यो क्रम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाँउघरका कृषकहरूको भान्सामा पनि ‘के पाक्ने’ भन्ने कुरा बजारले निर्धारण गर्नेछ, साथै उनीहरूले खाने कुराहरूमा पनि सिमितता आउने निश्चित छ।

चितवनमा मसुली धान विस्तार भएपछि कृषकहरूले ‘दुधराज’ र ‘अछामे मसिनो’ चामलको भात र ‘आँपझुत्ते’ धानको चिउरा सम्झिने गरेका थिए। कञ्चनपुरका राना थारूहरूले भात खाएर चुठीसकेपछि पनि हातमा बास्ना आईरहने ‘रहिमुनमा’ धान अहिले पनि सम्झिरहेका छन्। नेपालमा यस्ता रैथाने बीउको यकिन तथ्यांक समेत छैन। न त सरकारसँग त्यसको अभिलेख छ, न त कृषकहरूसँग बीउ।

के हाम्रो कृषि अनुसन्धान र विकासको लक्ष्य यही हो? यसतर्फ बेलैमा कृषक, कृषिकर्मी, नीति निर्माणकर्ता र योजनाविद्हरू सचेत हुनु जरूरी छ। कुनै पनि रैथाने बीउहरू कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका होइनन्। यो आजको भोलि वा केही वर्षमा विकास गर्न सकिने पनि होइन।

यो त हाम्रा पूर्खाहरूले हजारौं वर्षसम्म गरेको निरन्तर कृषिकर्मको प्रतिफल हो। नेपालको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावट: धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरूले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपानाई गुणस्तरीय बीउ तथा विरूवाको छनोट, एकआपसमा बीउ तथा विरुवा साटासाट र विस्तार गर्दै खेती गरिने प्रचलनले गर्दा हजारौं जातका रैथाने बीउहरूको विकास भएका हुन्।

पहिलेका कृषकहरु धान काट्नु र कोदो टिप्नुभन्दा पहिला राम्रोसँग पाकेका, पुष्ट दाना भएका र रोग नलागेका बाला छनोट गरेर टिप्ने अनि लामो र सर्लक्क परेको काँक्रो र ठूलो फर्सी बीउका लागि छुट्याउने गर्दथे। हाईब्रीड बीउ लगाउने चलन बढे पनि बीउ छनोट र भण्डारण सम्बन्धि ज्ञान पनि क्रमशः हराउँदै जान थालेको छ।

कृषि अनुसन्धान र विकास, खाद्य सुरक्षा, पोषण विविधता र पर्यावरणीय हिसाबले रैथाने जातहरूको विशेष महत्व छ। कतिपय रैथाने जातहरू विभिन्न किसिमका रोग तथा कीरा सहने, सुक्खा वा खडेरी तथा बढी पानी सहने, खान मीठो तथा स्वादिलो हुन्छन् भने कतियप जातहरूमा औषधीय गुण समेत हुने र विभिन्न धार्मिक तथा जातीय संस्कारहरूमा नभई नहुने खालका छन्।

बारा तथा रौतहट जिल्लामा पानी बढी जम्ने खल्ला खेतमा हुने भठी, सिलहट र बालुवा बढी भएको खेतमा फल्ने र दुध जस्तै सेतो भात हुने ‘दुधिसारो’ जस्ता धानका जातहरू थिए। छठ पर्वमा नभई नहुने बाला बाहिर ननिस्किकन नै पाक्ने ‘साठी’ जातको धान ती जिल्लाहरूमा अहिले पनि छ।

चोटपटक, दुर्घटना वा अन्य कारणले हातखुट्टा मर्किएको वा जीउ दुखेको अवस्थामा अनदी चामलको ‘लट्टे’ बनाएर खाने चलन गण्डकी क्षेत्रमा छदै छ। लेकतिर मात्र फल्ने ‘रूखभेँडा’को चट्नी अनि बेंसीमा फल्ने ‘बेलचन’को धुलो अचारको स्वाद कस्ले पो बिर्सन सक्छ र! खोजी गर्ने हो भने नेपालमा यस्ता गुण र विशेषता भएका हजारौ किसिमका रैथाने बीउहरू छन्। तर आजभोलीका कृषकहरूमा न त यसको चासो छ न त यस्ता बीउ संरक्षण गर्नु पर्छ भन्ने चेतना नै।

रैथाने बीउ संरक्षणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आम कृषकहरूको चेतना अभिवृद्धि गर्न भएका प्रयासहरू पनि सिमित छन्। कृषकहरूको खेतबारीबाट रैथाने बालीहरू हराँउदै जानुको एउटा कारण यो पनि हो।

संसारभरका मानिसहरूका लागि खाद्यान्न र पशुपन्छीका लागि दानाको बढ्दो आवश्यकता पूरा गर्न विकास गरिएका बीउ तथा प्रविधिको विस्तार, मानिसहरूको बसाँइसराइ तथा सहरीकरण, जलवायु परिवर्तन र खेती गर्ने तौरतरिकामा आएको परिवर्तनका कारणले हजारौं रैथाने बीउहरू लोप भइसकेका छन् भने बाँकी रहेका रैथाने बीउहरूको पनि अस्तित्व सङ्कटमा छ।

नेपालमा औपचारिक रूपमा कृषि अनुसन्धान र विकास सुरु हुनुपुर्व धानका दुई हजारभन्दा बढी रैथाने जातहरू कृषकहरूको खेतबारीमा थिए। तर हाल यो संख्या एक चौथाईको हाराहारीमा भएको अनुमान गरिन्छ। अन्य अन्नबाली, तरकारी, फलफुल बालीहरूको पनि स्थिति उही नै छ।

विभिन्न कारणले तीव्र गतिमा लोप भइरहेका रैथाने बीउ कृषकहरूको घर, खेत र बारीमा निरन्तर संरक्षण गर्दै त्यसको उपयोग प्रवर्द्धन गर्न, कृषकहरूका लागि आवश्यक थरिथरिका स्थानीय तथा उन्नत जातका बीउको सहज उपलब्धता बढाउन र विश्व खाद्य सङ्गठन अन्तर्गतको अन्तर्राष्ट्रिय सन्धिमा उल्लिखित धाराअनुसार बीउमा कृषक अधिकार सुनिश्चत गर्न सामुदायिक बीउ बैंक एक सफल पद्धतिको रूपमा विस्तार भईरहेको छ।

कृषकहरू कुनै सहकारी वा संस्थामा आवद्ध भएर आफ्नो क्षेत्र तथा आसपासमा उपलब्ध रैथाने जातको बीउ खोजी, संकलन, संरक्षण, नियमित बीउ उत्पादन र कृषकहरूको आवश्यकताअनुसार सहज रूपमा बीउ उपलब्ध गराउने व्यवस्था सामुदायिक बीउ बैंक हो।

नेपालमा सामुदायिक बीउ बैंकको थालनी २०५२ सालमा भएको हो र हालसम्म सात वटै प्रदेशका १९ जिल्लामा २२ वटा सामुदायिक बीउ बैंकहरू सफल रूपमा सञ्चालन भइरहेका छन्। यी सामुदायिक बीउ बैंकहरूले ७५ बालीहरूका १६२० जातका रैथाने बीउ प्रत्येक वर्ष उत्पादन गर्ने, आवश्यक पर्ने कृषकहरूलाई सशुल्क वा निःशुल्क उपलब्ध गराउने काम गरिरहेका छन्।

यी सामुदायिक बीउ बैंकहरू स्थापना तथा सञ्चालन नगरिएका भए उनीहरूले हाल संरक्षण गरेका मध्ये अधिकांश बीउ सदाका लागि लोप भएर गईसक्ने थिए।

रैथाने बीउ संरक्षणका लागि नेपालमा स्थापना गरिएका सामुदायिक बीउ बैंकहरू प्रायजसो अन्तर्राष्ट्रिय दातृनिकायहरूको आर्थिक सहयोगमा स्थापना भएका हुन्। केही समय पहिला कृषि विभाग अन्तर्गतको निकायले यसको अनुसरण गरेता पनि विधि र प्रक्रिया नपुर्याई गरिएका कारणले प्रायजसो सबै बन्द भए।

दातृनिकायहरूको सहयोगमा स्थापना गरिएका कतिपय सामुदायिक बीउ बैंकहरू भने नेपालका लागि मात्र नभई अन्य देशका लागि पनि अनुकरणीय नमुनाको रूपमा विकास भईरहेका छन्। झापा जिल्लाको शिवगञ्ज सामुदायिक बीउ बैंकले लोप हुन लागेको ‘कालोनुनिया’ जातको धान पुनः व्यापक विस्तार गरी उदाहरणीय काम गरेको छ। यो जात बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता प्रक्रियाको अन्तिम चरणमा छ।

शिवगञ्ज सामुदायिक बीउ बैंकले वर्षेनी ३/४ टन सुधारिएको कालोनुनिया धानको बीउ उत्पादन तथा बिक्री वितरण गरिरहेको छ। दोलखाको जुंगु, लम्जुङको घनपोखरा र दाङको रामपुर स्थित सामुदायिक बीउ बैँकहरूले पनि क्रमशः लोप हुने अवस्थामा रहेका ‘पहेंलो सिमी’, ‘तिल्की धान’ र ‘बरियो’ कागुनोको जातीय सुधार, शुद्ध बीउ उत्पादन र विस्तारमा काम गरिरहेका छन्।

सामुदायिक बीउ बैंक विषयमा नेपालमा प्रशस्त अध्ययन, अनुसन्धान भएका छन् र विस्तार योग्य मोडलको विकास पनि भएको छ। कर्णाली प्रदेश सरकारले प्राङ्गारिक कृषि र रैथाने बाली प्रवर्द्धनका लागि नीति तथा कार्यक्रमहरू अघि सारेको देखिन्छ। कृषि विभाग अन्तर्गतको निकायले केही प्रयास थालनी गरेको भएता पनि दीर्घकालीन सोंच र योजनाको अभाव छ।

यस बाहेक नेपालका अधिकांश कृषक, पालिका र प्रदेश सरकारका निकायहरूमा रैथाने बीउ पहिचान, संरक्षण र उपयोग प्रवर्द्धन गर्ने सोंच त्यती स्पष्ट आइसकेको देखिँदैन। हालसम्म नेपालको ७५३ वटा पालिकाहरूमा के कति किसिमका रैथाने बीउ छन् भन्ने कुराको यकिन लेखाजोखा भएको छैन। कृषकको खेतबारीमा रैथाने बीउको संरक्षण अनुसन्धान र प्रवर्द्धनको कुरा त धेरै पर छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा ‘गाँउपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार’ अन्तर्गत एकल अधिकार भित्र ‘कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्धन’ र प्रदेश तथा संघसँगको समन्वयमा जैविक विविधता अभिलेखन तथा रैथाने प्रजातीको संरक्षण र प्रवर्द्धन गर्ने कुरा समावेश गरिएको छ। यसबाट के स्पष्ट छ भने पालिका क्षेत्रमा भएका रैथाने बीउ पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवर्द्धनकार्य सम्बन्धित पालिकाले नै अगुवाई गर्नु पर्दछ।

यसका लागि पहिला नै बनिसकेका कृषक समूह, सहकारी र संस्थाहरू परिचालन गरी ‘सामुदायिक बीउ बैंक’ स्थापना तथा सञ्चालन गर्न ढिला गर्नु हुँदैन। तर यो एक प्राविधिक विषयवस्तु भएकाले पालिकाहरूले संघीय तथा प्रदेश तहका सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय तथा सहकार्य गरेर दीर्घकालीन सोंच, योजना र कार्यक्रम बनाएर अघि बढ्नुको विकल्प छैन।

(लेखक स्थानीय बाली विविधता सम्बन्धित अनुसन्धानकर्ता हुन्।)

यो लेख Setopati.com मा २०७७ असार १५ गतेको विचार पृष्टमा  प्रकाशित भएको थियो । जुन तलको लिंकबाट पढ्न सकिन्छ ।

https://www.setopati.com/opinion/210090